वि.सं.२०८३ भदौ २४ बुधवार

भदौ २४ को विध्वंस नेपालको इतिहासकै कालो अध्याय, सुरक्षा प्रतिवेदन सार्वजनिक गरियोस्: केपी ओली

शान्तिपूर्ण प्रदर्शन अपहरण गरी लोकतन्त्रमाथि प्रहार भयो, घटनाको गहिरो छानबिन हुनुपर्छ: ओली

khanepani

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण आन्दोलनलाई अपहरण गरी भदौ २४ मा योजनाबद्ध ढंगले लोकतन्त्रमाथि प्रहार गरिएको बताएका छन्।

भदौ २४ को विध्वंसकारी घटनाको एक वर्ष पुगेको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले राज्यका प्रमुख अंगहरू, राजनीतिक दलका कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको आक्रमणलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ को संज्ञा दिएका छन्।

विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, “शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रूपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरूको उद्देश्य बेग्लै थियो। उनीहरूले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरू, शहीद र अग्रजहरूका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंस र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो।”

भदौ २४ को विध्वंस अघिल्लो दिन युवाको ज्यान गएको घटनाबाट सिर्जित क्षणिक आवेग मात्र नभई सुनियोजित षड्यन्त्र भएको दाबी गर्दै उनले यसको गहिरो र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

घटनाको वास्तविकता ढाकछोप गर्न तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाएर पक्राउ तथा मुद्दा चलाउने दुराशयपूर्ण प्रयास गरिएको ओलीको आरोप छ। उनले सो घटनासँग सम्बन्धित सुरक्षा निकायको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

विध्वंसका मुख्य योजनाकार तथा आरोपीहरूलाई उन्मुक्ति दिने र कानुनी कारबाही प्रक्रिया रोक्ने प्रवृत्तिका कारण राजनीतिमा अपराधीकरण संस्थागत हुँदै गएको उनले बताएका छन्। प्रदर्शनको बहानामा अराजकता फैलाउने र परिवर्तनका नाममा हिंसालाई वैधता दिने अभ्यासले देशको समग्र लोकतान्त्रिक प्रणालीलाई नै दीर्घकालीन क्षति पुर्‍याउने चेतावनी समेत अध्यक्ष ओलीले दिएका छन्।

ranechhap