काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ।
हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू-भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदली रहेको छ। यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा र बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भाग एवं बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।







































