गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ।
गएराति करिब साढे ३ बजेको समयमा आएको बाढीले नाम्रुङका स्थानीय नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
निरन्तरको भारी वर्षापछि खोलामा आएको बाढीले स्थानीय एउटा फलामको पुलमा समेत क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बाढीका कारण कुनै मानवीय क्षति भने भएको छैन। हाल वर्षा रोकिएकाले खोलाको बहाव घट्दो क्रममा रहेको उनले बताए।
घटनापछि स्थानीय प्रशासनले मान्द्रुङ खोला तटीय क्षेत्र आसपासका बासिन्दालाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।







































