वि.सं.२०८३ भदौ १३ शनिवार

रसुवा बाढी: सम्पर्कविहीन नागरिकको खोजी र उद्धारका लागि आफन्तको हारगुहार, सरकारी सुस्तताप्रति आक्रोश

khanepani

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरूले खोजी तथा प्रभावकारी उद्धारका लागि सरकारसँग हारगुहार गरेका छन्। घटना भएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्थाबारे आधिकारिक सूचना नपाएपछि पीडित परिवारहरू सामाजिक सञ्जाल र जनप्रतिनिधिमार्फत उद्धारको अपिल गर्न बाध्य भएका हुन्।

हाइड्रोपावर आयोजनाहरूमा फसेका कामदारको अवस्था
रसुवागढी हाइड्रोपावरको पावर हाउसभित्र प्युठानका सन्तोष पौडेलसहित १२ जना फसेको ६० घण्टाभन्दा बढी बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै परिवारजनले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्। यस्तै, त्रिशूली थ्रीबी आयोजनामा कार्यरत बझाङका हेमन्तराज जोशीलगायत ११ जना कामदार अहिलेसम्म सम्पर्कविहीन छन्। उता चिलिमे हाइड्रोपावरको सुरुङको मुख बाढीले थुनिँदा इन्जिनियर सन्तोष पाण्डेसहित ६ जना कामदार विगत दुई दिनदेखि भित्रै फसेका छन् भने लाङटाङ हाइड्रोपावरमा कार्यरत कञ्चनपुरका देवबहादुर चन्द पनि तीन दिनदेखि सम्पर्कविहीन रहेका छन्।

भन्सार, सुरक्षा निकाय र स्थानीय बजारबाट सम्पर्कविहीन
टिमुरे क्षेत्रको बाढीमा परेको एउटा घरभित्र रसुवा भन्सार कार्यालयकी नासु अनिता पुरीलगायत कर्मचारीहरू थुनिएको भन्दै परिवारले तत्काल उद्धार टोली पठाइदिन आग्रह गरेको छ। त्यस्तै, रसुवामा कार्यरत नेपाली सेनाका जवान रोशनकुमार यादव, टिमुरे बजारमा रहेका बाजुराका मोहनलाल रोकाया र बिक्रम भण्डारी तथा भदौ १० गते इमिग्रेशन पास लिएका किशन खतिवडा पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनीहरूका परिवारले सामाजिक सञ्जालमार्फत खोजी कार्यका लागि सार्वजनिक अपिल गरेका छन्।

सूचनाको अभाव र परिवारमा बढ्दो अन्योल
विपद्को यस घडीमा सम्बन्धित निकायहरूले उद्धार र प्रभावितहरूको अवस्थाबारे पर्याप्त तथा आधिकारिक सूचना प्रवाह नगर्दा आफन्तहरू थप बेचैन बनेका छन्। सामाजिक सञ्जालमा चर्चा बटुल्नुभन्दा पनि फसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी तत्काल खोजी कार्य तीव्र बनाउन पीडित परिवारले सरकारसँग जोडदार माग गरेका छन्।

ranechhap