नुवाकोट। रसुवाको सीमा क्षेत्रबाट आएको ठुलो बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शम्भु प्रसाद रेग्मीले तटीय क्षेत्रका बजारहरूमा बाढी पसेर ठुलो नोक्सानी गरेको बताएका छन्।
रेग्मीका अनुसार बाढीले रसुवाको बोर्डरदेखि नै क्षति पुर्याउन सुरु गरेको थियो। ‘मानवीय क्षतिको अहिलेसम्म केही सुन्नमा आएको छैन, तर भौतिक संरचनाहरूमा ठुलो क्षति भएको छ,’ उनले भने, ‘बाढी बजार एरिया भित्रै छिरेकाले तटीय क्षेत्रमा बढी असर परेको छ।’
बाढीले नुवाकोटका बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट जस्ता मुख्य बजार क्षेत्रमा क्षति पुर्याएको छ। सुरक्षाकर्मीले दिएको रिपोर्टिङ अनुसार ती क्षेत्रमा बाढीले संरचनाहरू भत्काएको भए पनि क्षतिको यकिन विवरण भने आइसकेको छैन।
सीडीओ रेग्मीले थपे, ‘अहिले नै कति क्षति भयो भनेर किटान गर्न सक्ने अवस्था छैन। तर क्षति ठुलै भएको अनुमान गर्न सकिन्छ। अहिले हामी आफैँ गएर यकिन गर्न सक्ने स्थिति पनि छैन।
बाढीका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र सुरक्षाकर्मीहरूले घटनास्थलबाट रिपोर्ट पठाउने क्रम जारी रहेको प्रशासनले जनाएको छ। त्रिशूली र बेत्रावती क्षेत्रका तटीय बासिन्दालाई सतर्क रहन समेत भनिएको छ।







































