काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन्।
केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै स्व. प्रदीप गिरीले देखाएको बाटोमा अगाडी बढ्दै पार्टी एकतालाई बलियो बनाउनुपर्ने बताए।
गिरीबारे बोल्दै उनले भने, ‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ । उहाँ एक समुन्द्र जस्तै हुनुहुन्थ्यो । समुन्द्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ । स्व. प्रदीप गिरीले देखाएको बाटोमा अगाडी बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुनुपर्छ।’
बैठकमा गिरीको विचार र व्यक्तित्व उपर प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, सदस्यहरू डा. गोपाल दहित थारु, महेन्द्र यादव, जनक चटौत, ई. अमृत ज्ञवाली, प्रकाश लामिछाने, प्रकृति भट्टराई, अनुपा श्रेष्ठ र ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठ लगायतले बैठकमा आ-आफ्नो धारणा राखे।
सानेपामा जारी बैठकमा महिला ग्रीन रन र महिला उद्यमशीलता सम्मेलनको तयारी र विभिन्न उपसमितिका नीति तथा कार्य योजना प्रस्तुति लगायतका विषयमा छलफल केन्द्रित रहेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।







































