वि.सं.२०८३ भदौ २ मंगलवार

उपसभामुखको भूमिकाप्रति पोखरेलको आरोप, ‘तटस्थताको नाममा सत्तापक्षको पक्षपोषण संसदीय मर्मविपरीत’

khanepani

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका उपसभामुखको कार्यशैली र भूमिकाप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले उपसभामुखले पदीय मर्यादा र संविधानको भावनाअनुरूप आचरण नगरेको टिप्पणी गरेका हुन् ।

महासचिव पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भइसकेपछि तटस्थ भूमिका निर्वाह गर्नु उनीहरूको संवैधानिक कर्तव्य भएको बताएका छन् । सभामुखको भूमिकाका सन्दर्भमा उठेका प्रश्नहरूमा सुधारको संकेत देखिए पनि उपसभामुखको हकमा भने समस्या देखिएको उनको भनाइ छ ।

राष्ट्रिय श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटामा निर्वाचित उपसभामुख रुबी कुमारीबारे पोखरेलले लेखेका छन्, ‘उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो ।’

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको उद्देश्य नै सन्तुलन र निष्पक्षता कायम गर्नु रहेको उल्लेख गर्दै उनले उपसभामुखमा अनुभवको कमीले गर्दा पदीय मर्यादामा ध्यान पुग्न नसकेको हुनसक्ने बताए । ‘यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ,’ पोखरेलले लेखेका छन् ।

संसदीय भूमिकामा निष्पक्षताको परिभाषा स्पष्ट पार्दै महासचिव पोखरेलले लेखेका छन्, ‘निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः पलायन हुनु भने होइन ।’ उनले उपसभामुखलाई आफ्नो भूमिकामा सुधार ल्याउन र संवैधानिक मर्मलाई आत्मसाथ गर्न सुझाव समेत दिएका छन् ।

ranechhap