वि.सं.२०८३ साउन २९ शुक्रवार

मिटरब्याज तथा ठगी मुद्दामा गोपाल साहसहित तीनजना पुर्पक्षका लागि थुनामा

khanepani

जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साहसहित तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

अदालतको आदेशपछि जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी भाइ बुहारी ४८ वर्षीया रेखा साह र रेखाका छोरा ३२ वर्षीय हरेराम साह पुर्पक्षका लागि थुनामा गएका छन् । गोपाल साहका भाइ बलराम साह भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन १ गते गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिका-२ जटहीस्थित सीमा नाकाबाट र हरेरामलाई काठमाडौंँबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मधुसूदन न्यौपानेका अनुसार बिदेह नगरपालिका-८ बफैँका निवासी पूर्वएसएसपी गोविन्दकुमार साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरीका अनुसार गोविन्दकुमार साहले व्यापार-व्यवसाय सञ्चालनका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएका थिए । तर, दृष्टिबन्धकका रूपमा रजिस्ट्रेसन गरिएको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साहसहितले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एउटा ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध धनुषा जिल्ला अदालतमा अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता भएका थिए । तीमध्ये अदालतले हालसम्म ६ वटा मुद्दामा सुनुवाइ गरेको छ ।

थुनछेक बहसका क्रममा लगातार दुई दिन अबेर रातिसम्म बहस भएको थियो । बहसपछि अदालतले गोविन्दकुमार साहको जाहेरीसँग सम्बन्धित मुद्दामा गोपाल साह, रेखा साह र हरेराम साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

बाँकी पाँचवटा मुद्दामा भने अदालतले उनीहरूबाट जनही एक-एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

यसअघि लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । उनीहरूमाथिका बाँकी तीनवटा मुद्दामा भने आज थुनछेक बहस हुने भएको छ ।

ranechhap