काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, सम्पर्क र सामर्थ्यलाई समेत राष्ट्रहितमा उपयोग गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ। त्यसपछि छिमेकी मुलुकसँगको सम्बन्ध र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ। हाम्रा छिमेकीसँगको सम्बन्ध र तेस्रो विषय फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने कुरा हो।’
उनले जटिल भूराजनीतिक परिस्थितिको सामना गर्न नेपालले फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने बताए। २०७२ सालको नाकाबन्दीको बेलामा विदेशमा रहेका नेपाली समुदायले नेपालको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे।
उनले भने, ‘नाकाबन्दीको सामना गर्ने कुरामा बाहिर रहेको नेपाली समुदायले महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपाल राष्ट्रको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्ने कुरामा महत्त्वपूर्ण भूमिका खेलेको हामी देख्छौँ। त्यो परिस्थिति भविष्यमा पनि आउनसक्दछ। त्यस्तो अवस्थामा पनि हामीले आफ्ना सम्पर्क सम्बन्धहरूलाई राष्ट्रको हितमा प्रयोग गर्ने भन्ने कोणबाट पनि छलफल बहस गर्नुपर्दछ।’
विदेशमा रहेका नेपाली युवाको ज्ञान, सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने नीति आवश्यक रहेको बताए।






































