काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल खोजी गरेर ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ ।
साउन महिनामा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले धनीलाई हस्तान्तरण गरेका हुन् ।
जेनजी प्रदर्शन हुँदा प्रहरी सहायक हवल्दार दीपक सुनारको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालयबाटै चोरी भयो । सुनार ट्राफिक एफएममा कार्यरत थिए । त्यहाँबाट सरुवा भैसकेका सुनारलाई ट्राफिक प्रहरीले नै खोजी गरेर उनको मोटरसाइकल जिम्मा लगाएको छ ।
एसएसपी काफ्लेले बिहीबार रामशाहपथमा उनको बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल हस्तान्तरण गरे । सुनार जस्तै ४ जना प्रहरीको हराएको मोटरसाइकल यसै महिना फेला परेको छ ।
चोरीमा संलग्न १४ जना आरोपीहरूलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूलाई अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका युनिटलाई जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
साउन महिनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १५६ वटा दुईपांग्रे सवारी हराएको निवेदन परेको छ । तीमध्ये ८९ वटा फेला परेको एसपी सुवेदीले जानकारी दिए ।






































