वि.सं.२०८३ साउन २८ बिहीवार

प्रधानमन्त्रीले आफ्नो सेल्फ–रेस्ट्रिक्सन डिप्लोमेसी आफैँले उल्लङ्घन गरे : चालिसे

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री बालेन्द्र साहले चार महिनाअघि तामझामका साथ आफैले सुरु गरेको सेल्फ–रेस्ट्रिक्सन डिप्लोमेसी (आत्म–नियन्त्रित कूटनीति) आफैँले उल्लङ्घन गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता चालिसेले प्रधानमन्त्री शाहको यो क्रियाकलापलाई अपरिपक्व राजनीतिको नमुना उल्लेख गरेका छन् ।

चालिसेका अनुसार, प्रधानमन्त्रीको यो नीति न कुनै नियम थियो, न कूटनीतिक चातुर्यता, न त देशको हितमा नै थियो। उनले यसलाई केवल लहड, उत्सुकता र परीक्षणको संज्ञा दिँदै नेपालमा प्रचलित स्टण्ट शब्दसँग तुलना गरेका छन् । ‘राजनीतिमा चर्चित रहेको स्टण्ट अब कूटनीतिक क्षेत्रमा पनि विस्तार हुँदैछ,’ चालिसेले लेखेका छन् ।

प्रधानमन्त्री शाहको यही विवादास्पद नीतिका कारण नेपालको वैदेशिक सम्बन्धमा असर परेको दाबी चालिसेको छ। चालिसेले यही नीतिका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको मे २०२६ का लागि तय भएको प्रस्तावित नेपाल भ्रमण स्थगित भएको, दक्षिण मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जिओ गोर र अमेरिकी उप–विदेशमन्त्री सारा वी. रोजर्स प्रधानमन्त्रीलाई भेट्न नपाई फर्किएका उल्लेख गरेका छन्।

प्रवक्ता चालिसेले प्रधानमन्त्रीको व्यवहारमा देखिएको दोहोरो मापदण्डको पनि चर्चा गरेका छन् । एकातिर कूटनीतिक सम्पर्क सीमित गर्ने नीति लिने, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका विशेष दूतले भारतमै पुगेर उच्चाधिकारीहरूसँग भेटघाट गर्ने कार्यले नीति र व्यवहारमा तालमेल नमिलेको चालिसेको तर्क छ ।

राजदूतहरूसँग सामूहिक भेट मात्र गर्ने घोषणा गरेका प्रधानमन्त्रीले अन्ततः भारतीय र चिनियाँ राजदूतसँग वान टु वान भेटवार्ता गरेर आफ्नै अडान तोडेकोमा चालिसेले कटाक्ष गरेका छन् ।

चालिसेले नेपालको परराष्ट्र नीति सञ्चालनको संयन्त्रमाथि नै प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै लेखेका छन्, ‘नेपालको विदेश नीति कसले चलाउँदै छरु राज्यले, सरकारको संस्थागत संयन्त्रले, प्रधानमन्त्रीको व्यक्तिगत शैलीले कि सत्तारूढ दलको राजनीतिक कूटनीतिले ?’

चार महिनासम्म कूटनीतिक सम्पर्क ठप्प पारेर अन्तिममा पुरानै शैलीमा फर्किनुले देशलाई के रणनीतिक उपलब्धि भयो भन्दै उनले जनताले यसको मूल्याङ्कन गरिरहेको उल्लेख गरेका छन् ।

ranechhap