वि.सं.२०८३ साउन २६ मंगलवार

कर्णालीमा जस्तो लामो समय मन्त्रिमण्डल विस्तारका लागि कुर्नुपर्दैन : खगराज भट्ट

khanepani

धनगढी । कर्णालीमा जस्तो लामो समय मन्त्रिमण्डल विस्तारका लागि कुर्नुपर्ने अवस्था सुदूरपश्चिममा नआउने नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्रीका दाबेदार खगराज भट्टले बताएका छन्।

सरकार गठन भएको दिन नै नभए एक–दुई दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने उनले दाबी गरेका छन्।

सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी भइरहेका बेला भट्टले सत्ता साझेदार दलहरूबिच मन्त्रालय बाँडफाँट र मन्त्री छनोटका विषयमा सकारात्मक छलफल भइरहेको बताए।

उनका अनुसार सरकार गठनसँगै मन्त्रिमण्डललाई पूर्णता दिने गरी तयारी भइरहेको छ। मन्त्री बन्ने व्यक्तिहरूको नामबारे पनि छलफल अन्तिम चरणमा पुगेको उनले बताए।

‘कर्णालीमा जस्तो मन्त्रिमण्डल विस्तारका लागि लामो समय जाँदैन। हामी सोही दिन नभए एक–दुई दिनमा मन्त्रिमण्डललाई पूर्णता दिन्छौँ,’ भट्टले भने।

उनले नयाँ सरकार गठनपछि लामो समयसम्म मन्त्रालय खाली राख्ने वा सत्ता सञ्चालनमा ढिलाइ गर्ने अवस्था नआउने बताए। प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्दै सरकारको कामलाई तत्काल चलायमान बनाउने तयारी रहेको उनको भनाइ छ।

‘हामी सकारात्मक रूपमा सरकार गठन गर्ने र सोहीअनुसार काम अघि बढाउने तयारीमा छौँ। बजेट शून्यताको अवस्थालाई चलायमान बनाउने हाम्रो प्राथमिकता हो,’ भट्टले भने।

केन्द्रमा भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तयारी छ। सोही अनुसार भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन्।

वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र त्यसपछि नेकपा र एमालेको सहकार्यमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएको छ।

मुख्यमन्त्री शाहले बुधवार राजीनामा दिने सम्भावना छ।

ranechhap