ललितपुर। ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को भव्य उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक विशेष समारोहका बिच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।
सुपर लिगमा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चारवटा खेल विधा समावेश गरिएको एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले जानकारी दिनुभयो। प्रिन्सिपल जोशीका अनुसार ललितपुर जिल्लाभरिका इच्छुक विद्यार्थीहरूले तोकिएको फाराम भरी प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। “विद्यार्थीहरूमा रहेको खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर प्रदान गर्ने उद्देश्यले यो लिग आयोजना गरिएको हो,” जोशीले भन्नुभयो।
समारोहमा विभिन्न खेलका कप्तान (क्याप्टेन) हरूको नामसमेत सार्वजनिक गरिएको थियो। प्रतियोगिता आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार प्रत्येक खेलका कप्तानले नै आफ्नो टोलीका खेलाडीहरू चयन गर्ने व्यवस्था मिलाइएको छ। कप्तानहरूले खेलाडी छनोट गरी उनीहरूको जर्सीमा राखिने नाम तथा आवश्यक विवरण आयोजक समितिलाई उपलब्ध गराउनुपर्नेछ।
प्रतियोगिताको प्राविधिक तयारी एक साताभित्र सम्पन्न गरी आगामी शुक्रबारदेखि खेलहरू सञ्चालन गरिने संयोजक श्रेष्ठले बताउनुभयो। लिगको ग्रान्ड फाइनल आगामी मङ्सीर महिनामा आयोजना गरिनेछ।
कार्यक्रममा ब्लु बर्ड कलेजका प्रिन्सिपल बी. एस. क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले निरन्तर विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले ब्लु बर्ड कलेजले सुरु गरेका कतिपय अनुकरणीय कार्यहरू अन्य शैक्षिक संस्थाहरूले पनि अपनाउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो।
समारोहका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले युवाहरू देशको वास्तविक शक्ति भएको उल्लेख गर्दै खेलकुदले युवामा अनुशासन, क्षमता र नेतृत्व कौशलको विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
आयोजकले यस प्रतियोगितामार्फत विद्यार्थीमा खेलकुदप्रतिको अभिरुचि बढाउनुका साथै ललितपुर क्षेत्रका प्रतिभाशाली खेलाडीहरूको पहिचान र विकासमा टेवा पुग्ने विश्वास लिएको छ।






































