काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे अदालतको प्रत्येक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन्। आधिकारिकता विवादमा सर्वोच्चले पुनरावलोकनको आदेश दिएपछि उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनको चरणमा प्रवेश गराएको छ। विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो विश्वास केवल शब्दमा होइन, व्यवहारमा पनि प्रतिबिम्बित हुनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई हामी सम्मान गर्दछौँ।’
उनले विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा सङ्कल्पबाट निर्धारित भएको जिकिर गरेका छन्।
उनले थपेका छन्, ‘तर यो पनि उत्तिकै सत्य हो कि नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा सङ्कल्पबाट निर्धारित भएको हो। त्यसैले कानुनी प्रक्रियाले आफ्नो बाटो लिन्छ, तर सङ्गठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान कुनै पनि परिस्थितिमा रोकिने छैन। यसले अझ गति पक्रने छ।’
लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु भएको जिकिर गर्दै असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु नभएको बताएका छन्। संवाद, संस्थागत प्रक्रिया र विधान नै लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधार भएको उनको भनाइ छ।
‘संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई होइन, व्यक्ति केन्द्रित राजनीतिलाई प्रोत्साहन गर्छ, बल पुर्याउँछ’ उनले भनेका छन्, ‘आज नेपाली कांग्रेसलाई आवश्यक परेको कुरा विभाजनको बहस होइन, एकताको संकल्प; अविश्वासको राजनीति होइन, रूपान्तरणको नेतृत्व हो।’
उनले सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर सङ्गठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।







































