वि.सं.२०८३ साउन २१ बिहीवार

बागमती प्रदेशमा ड्राइभिङ लाइसेन्सका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य जाँच गराउनुपर्ने

khanepani

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिने प्रशिक्षार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा एक सूचना जारी गरेको छ।

मन्त्रालयले बुधबार सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार सूचीकृत स्वास्थ्य संस्था र चिकित्सकहरूबाट मात्र स्वास्थ्य जाँच गराउन सर्वसाधारणलाई सूचित गरेको हो।

यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणालीमा चिकित्सकहरूलाई आबद्ध गरेपछि यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। उक्त रिटको सम्बन्धमा सर्वोच्च अदालतले गत साउन १२ गते पुरानो व्यवस्थामा कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गरेपछि मन्त्रालयले नयाँ प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयको बुधबारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि तोकिएका स्वास्थ्य संस्थाहरूलाई मात्र अनलाइन प्रणालीमा आबद्ध गराई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाका १७ वटा स्वास्थ्य संस्थाहरू यस प्रक्रियाका लागि छनौट भएका छन्।

यस व्यवस्था लागू भएसँगै अब सवारी चालक अनुमति पत्रका आवेदकहरूले उल्लेखित स्वास्थ्य संस्था र त्यहाँ कार्यरत तोकिएका चिकित्सकहरूबाट मात्र आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्नेछ। मन्त्रालयले यस प्रक्रियालाई व्यवस्थित बनाउन प्रणालीको एडमिन युजरमार्फत चिकित्सकहरूलाई आबद्ध गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

ranechhap