काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिन थालेसँगै काठमाडौंमा निषेधाज्ञा जारी गरिएको एक महिना बितेको छ । गत वैशाख १६ गतेदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको म्याद पटक-पटक थप हुँदै एक महिना लम्बिएको हो ।
निषेधाज्ञाले महामारी नियन्त्रणमा कति सघाउ पुग्यो त ? पछिल्लो एक महिनाको तथ्याङ केलाउने हो भने सकारात्मक जवाफ हात पर्दैन । कोरोना संक्रमणको दर अपेक्षितरुपमा घट्न सकेको छैन भने मृत्यू दर बढ्दो छ । निषेधाज्ञाबाहेक अन्य उपायहरुमा ध्यान दिन नसक्दा कोरोना चाँडै नियन्त्रणमा आउन नसकेको विज्ञहरु बताउँछन् ।
निषेधाज्ञा सुरु भएको अघिल्लो दिन गत वैशाख १५ गते नेपालमा ४ हजार ८९७ जना संक्रमित थपिएका थिए भने १७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । त्यसको ठिक एक महिना पछि १५ जेठमा ४ हजार ४ सय ८६ जना संक्रमित थपिए भने एक सय १६ जनाले ज्यान गुमाएका छन् ।
यो बीचमा वैशाखको अन्तिम साता र जेठको पहिलो साता महामारी ‘पिक’ मा पुगेको देखिन्छ । वैशाख २८ गते नेपालमा कोरोना संक्रमणले नयाँ रेकर्ड राख्यो । त्यस दिन ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २२५ जनाको ज्यान गएको थियो । तर, सर्वाधिक मृत्यूको त्यो रेकर्ड जेठ ५ गते तोडियो । त्यस दिन २ सय ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए ।
पछिल्लो साता संक्रमित हुने संख्यामा केही सुस्तता आएको देखिए पनि अवस्था भयावह नै छ । पछिल्ला तीन दिनको तथ्यांक हेर्ने हो भने १३ गते बिहीबार ६ हजार ९३९ जना संक्रमित थपिए भने १०५ जनाको मृत्यू भयो । शुक्रबार ६ हजार ९५१ जनामा संक्रमण पुष्टि हुँदा ९६ जनाको ज्यान गयो । हिजो शनिबार ४ हजार ४ सय ८६ मा संक्रमण देखियो भने एक सय १६ जनाको मृत्यू भयो ।
निषेधाज्ञा सुरु भएको ३२ दिनको अवधिमा मात्रै २ लाख ४९ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ हजार ८४२ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् ।
जनजीवन ठप्प, रोजीरोटीको संकट
कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा एक महिनामा खुकुलो हुनुको साटो झन् कडा गरिएको छ । अहिले देशको राजधानीको जनजीवन ठप्प प्राय छ । दैनिक काम गरेर खानुपर्ने मानिसहरु रोजिरोटीको समस्यामा परिरहेका छन् ।
पछिल्लो सातामा तीन जिल्लाका सिडीओहरुले निषेधाज्ञा झन् कडा पार्न निर्देशन दिएका थिए । काठमाडौंमा अहिले खाद्यान्न र किराना पसल पनि खोल्न दिइएको छैन । अत्यावश्यक वस्तुहरुको आपूर्तिमा समेत अवरोध भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्रवाह थप संकुचित बनाइएको छ ।
निषेधाज्ञाका कारण उद्योग-कलकारखाना बन्द हुँदा लाखौंले अल्पकालीन वा दिर्घकालीनरुपमा रोजगारी गुमाएका छन् । उनीहरुको परिवारलाई भरणपोषणको समस्या छ । काठमाडौं छाडेर गाउँ हिँडेका धेरै मानिसहरु अझै फर्किन सकेका छैनन् ।
समग्रमा निषेधाज्ञाले देशको अर्थव्यवस्थामा गम्भिर धक्का दिएको छ । उद्योग, पर्यटन, यातायात तथा साना व्यवसायीहरुले सबैभन्दा ठूलो प्रहार व्यवहोरेका छन् । व्यवसायीहरु सरकारका तर्फबाट उद्दार प्याकेज नआएको खण्डमा फेरि उठ्न कठिन रहेको बताइरहेका छन् । सरकारले हिजो सार्वजनिक गरेको बजेटले व्यवसायीहरुलाई केही राहत दिए पनि यो पर्याप्त नरहेको उनीहरुको भनाइ छ ।
अघिल्लो लकडाउनको अनुभव
नेपालमा कोरोना संक्रमण देखिन थालेलगत्तै २०७६ चैत ११ देखि सरकारले देशैभर लकडाउन लागू गरेको थियो । हप्ता, महिना गर्दै ४ महिनासम्म लम्बिएको सो लकडाउनले देशको अर्थतन्त्र लथालिंग बनायो भने कोरोना महामारी फैलिनबाट पनि रोकिएन । कडा लकडाउनकै बीचमा महामारी फैलिएको थियो ।
त्यसबेला लामो लकडाउनले मजदुर वर्गहरु भोकभोकै पर्न थालेपछि सडकमा निस्कन बाध्य भए । अन्ततः महामारीकै बचिमा सरकारले ४ महिनापछि लकडाउन खोल्न वाध्य भएको थियो । त्यसको केही समयपछि बिस्तारै कोरोना महामारी सिथिल हुँदै माग-फागुनमा आइपुग्दा लगभग अन्त्य हुन लागेको अवस्था थियो । तर चैतदेखि फेरि भारतमा कोरोनाको दोस्रो वेभ आयो र त्यसको असर नेपालमा पनि पर्न थाल्यो ।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिए पनि सरकारले सिमानाकामा कडाइ गर्न सकेन । स्वास्थ्य मापदण्डबिनै दुवैतर्फ आउजाउ चलिरह्यो । यहीबीचमा देशमा राजनीतिक किचलो पनि बढ्न थाल्यो । सरकारको ध्यान महामारी नियन्त्रण गर्नेभन्दा कुर्सी जोगाउनेमा बढी केन्द्रीत भयो । अन्ततः वैशाखदेखि नेपाललाई महामारीले नराम्रोसँग गाँज्यो । त्यसपछि सरकारले निषेधाज्ञा र लकडाउनभन्दा अर्को उपाय देखेन ।
अघिल्लोपटकको लकडाउन असफल भएको बिर्सेर सरकारले फेरि पनि त्यही मोडल अपनाएको छ । यसबेला लकडाउन गर्दासम्म कोरोना आगोझैं सल्किसकेको थियो । त्यसैले निषेधाज्ञामा संक्रमण घट्नुको साटो ह्वात्तै बढ्यो ।
विज्ञ भन्छन्ः लकडाउन मात्रै ओखती होइन
उपत्यकामा निषेधाज्ञा लगाएको एक महिना हुँदा पनि कोरोनाको चेन ब्रेक नभएको विज्ञहरुले बताएका छन् । लकडाउन र निषेधाज्ञाले मात्रै कोरोना महामारी नियन्त्रण हुन नसक्ने उनीहरुको भनाइ छ ।
जनस्वास्थ्यविद् समीरमणि दिक्षित कोरोना संक्रमणको चेन ब्रेक गर्नुपरेको अवस्थामा मात्रै लकडाउनको विकल्पमा जानुपर्ने बताउँछन् । अहिले कोरोना संक्रमण नघट्नुको मुख्य कारण सरकारको लापरबाही नै रहेको उनको भनाइ छ ।
अहिले काठमाडौंमा मात्र नभएर गाउँगाउँमा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंमा निषेधाज्ञा लागू हुने भएपछि धेरै मानिसहरु गाउँ फर्केका थिए । उनीहरुमार्फत संक्रमण उपत्यकाबाहिर बिस्तार भएको विज्ञहरु बताउँछन् ।
दिक्षित भन्छन्, ‘संक्रमण फैलिएपछि जो जहाँ छ त्यहीँ बस्नुपर्ने हो । तर सरकार आफैले गाउँ जानको लागि तीन दिनको समय दिइयो । त्यसले पनि संक्रमण फैलन सहयोग पुग्यो ।’
अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेर मात्रै नहुने बताउँछन् । निषेधाज्ञा समयमा पनि कतिपय मानिसहरु चलायमान हुँदा संक्रमण विस्तार भएको उनको तर्क छ ।
उनले भने, ‘निषेधाज्ञा लागू गरेर पनि हाम्रो संक्रमण अपेक्षितरुपमा घट्न सकेको छैन । कम्तिमा यसले कामै गरेन भन्ने स्थिति त छैन तर जति प्रभावकारी हुन सक्थ्यो भएन ।’
सिडिओको दावीः नत्र झन् भयावह हुन्थ्यो
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै उपत्यकाका ती जिल्ला प्रशासन प्रमुखले एकसाथ निषेधाज्ञा जारी गरेका थिए । अहिले उनीहरु निषेधाज्ञाले मात्रै कोरोना नियन्त्रण नहुने बताउँछन् । निषेधाज्ञा पनि नलगाएको भए झनै ठूलो क्षति बेहोर्नुपर्ने उनीहरुको तर्क छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘हामीले गर्न सक्ने भनेकै निषेधाज्ञा हो । अन्य विकल्प छैन हामीसँग ।’
यो हदसम्म निषेधाज्ञा नगरेको भए महामारी झन् भयावह बन्ने उनले बताए ।
‘निषेधाज्ञाले गर्दा महामारीले रफ्तार लिन पााएन । अब यसलाई घटाउन र चेन ब्रेक गर्नुपर्ने भएकाले अलिकति कडा पारेको हो,’ उनले भने ।
झण्डै एक महिना लकडाउन गर्दा पनि नियन्त्रण नहुनुमा राजनीतिक गतिविधीले पनि प्रभाव पारेको उनको स्वीकारोक्ति छ ।
अझै दुई हप्ता थप्न सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञाले संक्रमणको चक्र घटाउन सहयोग पुर्याएको दावी गरेको छ । यसले महामारी नियन्त्रणको तयारी गर्न समेत सरकारलाई समय मिलेको मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।
मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘निषेधाज्ञापछि अस्पताल व्यवस्थापन लगायतका तयारीको लागि हामीले समय पाउने हो । निषेधाज्ञा मात्रैले सबै कुरा हुने होइन ।’
अधिकारीका अनुसार निषेधाज्ञा थपिदै गएसँगै कोरोना संक्रमणको चेक बेक्र गर्दै संक्रमण पनि घट्न थालेको छ ।
उनी भन्छन्, ‘निषेधाज्ञाको प्रभाव भनेको.दुई देखि ३ हप्ताभन्दा अगाडि देखिदैन । तीन हप्तासम्म अगाडिकै संक्रमण देखिइरहेको हुन्छ । ३ हप्ताभन्दा पछि मात्रै संक्रमण घटाएको देखिन्छ । अहिले अलिकति घटेजस्तो देखिएको छ ।’
यद्यपि, अहिलेको अवस्था हेर्दा संक्रमणको उच्च अवस्थामै गुज्रिरहेको प्रवक्ता अधिकारीको स्वीकारोक्ति छ ।
उनले भने, ‘केही दिन अगाडि संक्रमणको एउटा अवस्थामा आइसकेपछि निषेधाज्ञाको अवस्थामा गयाैं । त्यसपछि पनि ज्यामितीय हिसाबले बढ्ने दर त केही दिनसम्म रहन्छ । त्यसका कारण एक हप्तासम्म संक्रमण नघटेको जस्तो देखिए पनि निषेधाज्ञा थपिने क्रम बढ्दै गयो । त्यतिखेर नगरेको भए अझै धेरै हुन्थ्यो ।’
कोरोना नियन्त्रण गर्न अझै दुई साता निषेधाज्ञा आवश्यक रहेको उनको भनाइ छ ।
अधिकारी भन्छन्, ‘अझै दुई हप्ताजति निषेधाज्ञा थप गरेर हामी अगाडि बढ्न सक्ने अवस्था भयो भने संक्रमणको दर अझ तल आउँछ । हामीलाई सहज हुँदै जान्छ । अस्पताल व्यवस्थापन गर्न धेरै चुनौति हुँदैन । त्यही आधारमा हामीले तत्काल दुई हप्ताको सिफारिस गरेका छौ ।’
कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा एउटा मात्रै साधन नभएको उनी पनि मान्छन् ।









































