काठमाडौँ । इन्टर्न चिकित्सकहरूको न्यायोचित पारिश्रमिक र श्रमको सम्मान लगायतका माग कार्यान्वयनको दबाब दिँदै इन्टर्न चिकित्सक डिल्ली हरिजनले आजदेखि माइतीघर मण्डलामा आमरण अनसनमा बसेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूसँग चार महिनासम्म निरन्तर संवाद गर्दा पनि कुनै ठोस निर्णय नभएपछि बाध्य भएर यो कदम चाल्नुपरेको हरिजनले बताए।
उनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्दै ‘समान कामको समान पारिश्रमिक’ र श्रमको सम्मान हुनुपर्ने मुख्य माग अघि सारेका छन्।
प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीसहितका जिम्मेवार पदाधिकारीहरूसँग पटक-पटक छलफल गर्दा पनि सरकारले निजी मेडिकल कलेजहरूको दबाबमा परी माग ओझेलमा पारेको हरिजनको आरोप छ।
इन्टर्न चिकित्सक र मेडिकल विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै उनले सरकारलाई प्रतिवेदनका आधारमा तत्काल निर्णय लिन आग्रह गरेका छन्।





































