काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले हाल मधेशमा मौलाउँदै गएको धार्मिक तथा सामाजिक तनाव कुनै आकस्मिक घटना नभएको जिकिर गरेका छन्।
सत्ताधारी दलका नेताहरूबाट आएका अभिव्यक्ति र गृहमन्त्रीले धार्मिक संघ–संस्थाहरूसँग हतारमा गरेका अपारदर्शी सम्झौताले यस परिस्थितिमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘राज्यको मुख्य दायित्व समाजमा शान्ति, सद्भाव र विधिको शासन कायम गर्नु हो। तर, संवेदनशील धार्मिक मुद्दाहरूमा दीर्घकालीन समाधान खोज्नुको सट्टा राजनीतिक लाभ–हानिका आधारमा सहमति गर्ने र उत्तेजक बयानबाजी दिने प्रवृत्तिले परिस्थिति थप जटिल बनेको छ।’
शान्ति–सुरक्षा कायम गर्न असफल हुनु र अशान्ति भड्काउने तत्त्वहरूलाई प्रश्रय पुग्ने गरी गतिविधि हुनुले सत्ताधारी दल र सरकारको नियतमाथि नै गम्भीर प्रश्न उठेको उनको दाबी छ।
उनले थपेका छन्, ‘मधेशको सामाजिक सद्भाव जोगाउन अब आरोप–प्रत्यारोप होइन, सरकार र जिम्मेवार दलहरूबाट तत्काल निष्पक्ष, पारदर्शी र ठोस कदमको आवश्यकता छ। कुनै पनि बहानामा सामाजिक सद्भाव विथोल्ने र साम्प्रदायिक हिंसा भड्काउने कोसिस नगरियोस्।’






































