वि.सं.२०८३ साउन १८ सोमवार

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

khanepani

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ ।

निगमले खान पकाउने ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेल/मट्टितेलको पनि २०० रुपैयाँ प्रतिलिटर भएको छ ।

निगमका अनुसार पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा लागतअनुसार मूल्य समायोजन नगरिएको हो । भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १७ पैसा, डिजेलमा ४१ रुपैयाँ ७६ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ १० पैसा लागत बढेर आएको जनाएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४४ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग आग्रह गरेको छ ।

ranechhap