वि.सं.२०८३ साउन १६ शनिवार

निम्सदाइसहितका आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुख व्यक्त

khanepani

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको उच्च अभिव्यक्ति भएको बताएका छन् ।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गरेका छन् । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको बताएका छन् ।

उनले निर्मल पुर्जासहित निधन भएका सबै आरोहीको भौतिक यात्रा मात्र रोकिएको तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले दिवङ्गत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

ranechhap