सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अत्यावश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले आज बिहान ७ बजेदेखि ९ बजेसम्म कर्फ्यु खुकुलो बनाएको छ। तोकिएको उक्त दुई घण्टाको समयावधिमा स्थानीयवासीले दूध, तरकारी, फलफूल तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार तोकिएको समयभित्र आवश्यक सामान खरिद गरी आफ्नै निवासतर्फ फर्कन र ९ बजेपछि कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरिएको छ। शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएको समयपछि कर्फ्युलाई कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ।
यसैगरी, कर्फ्यु खुकुलो पारिएको समयमा हुलदङ्गा वा अशान्ति फैलाउने, एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुने वा कुनै पनि प्रकारका उच्छृङ्खल गतिविधि गरे/गराइएमा कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।
सप्तरीको बोदेबरसाइनमा गत साउन १४ गते राति १० बजेदेखि र सदरमुकाम राजविराजमा साउन १५ गते बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्युको आदेश जारी गरिएको थियो। प्रशासनले ९ बजेपछि पुनः कर्फ्युको पूर्ण पालना गरी जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै नागरिकसँग सहयोगको अपिल गरेको छ।








































