काठमाडौं । नेकपाका नेता वर्षमान पुनले सामाजिक सद्भाव बिथोलिने खालको कुनै गतिविधि नगर्न आग्रह गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देश एउटा विशिष्ट भू–राजनीतिक अवस्थामा रहेको बताए।
उनले भने, ‘विशाल छिमेकीहरूको बीचमा पनि छौँ, हामी भूपरिवेष्टित अवस्थामा पनि छौँ। यस्ता अवस्थामा देशले बेहोर्नुपर्ने दबाब, सुरक्षा चुनौती, विभिन्न खालका चलखेलका सम्भावनामा सरकारले ध्यान दिनुपर्छ। विश्वव्यापी नै भू–राजनीतिक चलखेल बढिरहेको बेला हामी सबैले संयमता अपनाऔँ।’
नेपाली जनताको आपसी एकता मुख्य कुरा भएकाले यसमा कसैले पनि राजनीति गर्न नहुने बताए। कुनै समुदायलाई पनि अहङ्कार, घमण्ड, असहिष्णुता नदेखाउन आग्रह गरे।
उनले संवेदनशील अवस्थामा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार बन्नुपर्ने बताए।
उनले भने, ‘आज संसदमा हामीले गृहमन्त्रीको जवाफ पनि माग गरेका छौँ। उहाँले जवाफ दिनुपर्छ प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गर्नुपर्थ्यो, संसदमा आएर जनतालाई अपिल गर्नुपर्थ्यो, त्यो खालको देखिएन।’
उनले बल प्रयोग गरेर समस्याको समाधान नहुने बताए।
उनले थपे, ‘घटना त धेरै दिन भइसक्यो। सेना उतारिएको छ। त्योभन्दा अगाडि धेरै प्रक्रिया हुन्छन्। स्थानीय, प्रदेश सरकारहरूलाई विश्वासमा लिने, स्थानीय प्रशासन वा केन्द्रीय सरकारले विभिन्न सामाजिक पक्षहरूलाई सद्भावका लागि अपिल गर्नुपर्छ।’
सरकारले अविलम्ब सबै पक्षसँग संवाद गरेर घटनाको उच्चस्तरीय आयोग गठन गरेर तत्काल छानबिन गर्नुपर्ने बताए।
उनले थपे, ‘यस्ता घटना दोहोरिन नदिने र दोषी देखिएका मानिसहरूलाई कारबाही गर्ने गर्नुपर्छ। गोली चल्यो कसले भन्दा त्यसमा पनि शङ्का–उपशङ्काका कुराहरू छन्, गत भदौ २३–२४ गते कसले गोली चलायो, अहिलेसम्म विवाद छ। आयोगहरूले पनि त्यसको तथ्य ल्याउँदैन।’
उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको हुनसक्ने आशङ्का गरे।






































