काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणबाट स्वदेश फर्किएका छन् ।
उनी साउन ७ देखि १३ गतेसम्म चीनको भ्रमणमा थिए । खनालको सचिवालयले जनाएअनुसार नेपाल–चीनबीचको मैत्रिपूर्ण सम्बन्ध र सहयोगका विषयमा विस्तृत रूपमा विचार र अनुभवहरूको आदानप्रदान गरेर उनी फर्किएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले आफ्नो स्थापनाको प्रथम शताब्दीमा उद्घाटन गरेको पार्टी संग्रहालय, अध्यक्ष माओत्सेतुङ्गले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना घोषणा गरेको तियानमेन स्क्वायरको मञ्च, एसियाकै सबैभन्दा ठूलो र प्राचीन चिनियाँ दर्शनको संयोजनबाट बनेको ‘स्वर्गको मन्दिर’ र विश्वकै अत्याधुनिक र विशाल विद्युतीय गाडी (ईभी) को कारखाना तथा सियाओमीको विस्तृत अवलोकन गरेको खनालको सचिवालयले जनाएको छ ।






































