वि.सं.२०८३ साउन १४ बिहीवार

सांसद यादवको प्रश्न, प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ?

khanepani

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन् ।

सांसद यादवले सुनसरी घटनालाई केवल एउटा घटनाका रूपमा मात्र नभई राज्यको सुरक्षा व्यवस्था र प्रशासनिक तयारीको गम्भीर असफलताको रूपमा चित्रण गरिन् ।

‘नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन,’ उनले भनिन्, ‘हिजोका दिनमा यस्तै घटना हुँदा प्रधानमन्त्रीज्यूले अरूलाई नैतिक रूपमा असफल घोषणा गर्नुहुन्थ्यो, आज उहाँ स्वयं सरकारको नेतृत्वमा हुँदा के त्यो नैतिक मापदण्ड आफूमा लागू हुँदैन ।’

यादवले प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको समवेदनाप्रति कटाक्ष गर्दै भनिन्, ‘के प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ? प्रधानमन्त्रीको वास्तविक दायित्व त घटना हुन नदिनु, सुरक्षा सुनिश्चित गर्नु र राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु हो।’

उनले यत्रो ठुलो घटना हुँदा पनि गृहमन्त्रीको उपस्थिति र सक्रियता नदेखिएको भन्दै प्रश्न उठाइन् । ‘यति गम्भीर मोडमा गृहमन्त्रीज्यू कता हराउनुभयो ? सरकारले सुरक्षाकर्मीको गल्ती देखाएर पन्छिन खोज्दै छ, तर सुरक्षाकर्मी त राज्यको आदेश र नीति अन्तर्गत परिचालित हुन्छन्। यदि त्रुटि भएको हो भने त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ,’ यादवले भनिन् ।

कांग्रेस कुनै पनि प्रकारको हिंसा, धार्मिक वा साम्प्रदायिक द्वेषको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै सांसद यादवले सरकारको लाचारी र लापरवाहीमाथि कांग्रेस मौन नबस्ने चेतावनी दिइन् ।

ranechhap