वि.सं.२०८३ साउन १४ बिहीवार

टिकटकर तुलसा अधिकारीको मुद्दामा आज प्रारम्भिक सुनुवाइ, न्यायाधीश ढुंगानाको इजलासमा पेसी

khanepani

काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारी सम्बन्धित मुद्दामा प्रारम्भिक सुनुवाइका लागि ललितपुर जिल्ला अदालतमा बिहीबार पेसी तोकिएको छ ।

उक्त मुद्दा जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको छ । अधिकारी हाल पुर्पक्षका लागि थुनामै छिन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।

तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप ती व्यवसायीले लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको दाबी पनि व्यवसायीले गरेका छन् ।

ranechhap