वि.सं.२०८३ साउन १३ बुधवार

बुर्लाकोटीको प्रश्न : १६ वर्षमै मतदानको अधिकार र नागरिकताकै आधारमा भोट हाल्ने व्यवस्था गर्न सकिन्छ ?

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले १६ वर्ष उमेर पुगेका युवाहरूलाई मतदानको अधिकार दिनुपर्ने र नागरिकता वा राष्ट्रिय परिचयपत्र भएकै आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको कार्य योजनामाथि संसदीय सुनुवाइ समितिमा भएको छलफलमा बोल्दै उनले निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याए ।

सांसद बुर्लाकोटीले नागरिकता र राष्ट्रिय परिचयपत्र भइसकेपछि पनि मतदाता नामावलीमा नाम नभएकै कारण नागरिक मतदानबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘नागरिकता र राष्ट्रिय परिचयपत्र भइसकेपछि मतदाता नामावलीमा नाम छैन भन्नुको अब अर्थ छैन,’ उनले भने– ‘यी परिचयपत्रका आधारमा सिधै मतदान गर्ने व्यवस्था मिलाउन तपाईँसँग के योजना छ ?’

उनले मतदान गर्ने उमेर हदलाई घटाउनुपर्ने धारणा राख्दै १६ वर्ष पुगेका युवाहरूलाई मतदानको प्रक्रियामा सहभागी गराउन कानुन संशोधनका लागि पहल गर्न प्रस्तावित प्रमुख आयुक्तलाई आग्रह गरे ।

निर्वाचन आचारसंहिता पालनाका क्रममा आयोगले पक्षपात गर्ने गरेको भन्दै बुर्लाकोटीले गम्भीर प्रश्न उठाए । उनले भने– ‘उम्मेदवारी र प्रचार–प्रसारका क्रममा ठुला शक्तिले जे गरे पनि आयोगले नदेखेजस्तो गर्ने तर साना दललाई भने कडाइ गर्ने गरिएको देखिन्छ । तपाईं आएपछि सबैलाई बराबर व्यवहार गर्न के गर्नुहुन्छ ?’

निर्वाचन आयोगले दलहरूलाई मर्जरका लागि दबाब दिन नहुने उनको तर्क थियो । ‘राजनीतिक दलहरू आफैँ मर्ज हुन्छन् भने त्यो उनीहरूको खुसीको कुरा हो, तर आयोगले दबाब दिने वा अनिवार्य गर्ने काम गर्नुहुँदैन,’ उनले भने ।

मतदानका दिन सार्वजनिक सवारी चल्न नदिँदा मतदातालाई समस्या पर्ने गरेको उल्लेख गर्दै उनले विकल्प पेस गरे । बुर्लाकोटीले निर्वाचनको दिन सरकारले नै निःशुल्क यातायातको व्यवस्था गर्नुपर्ने वा एक पालिकाबाट अर्को पालिकामा चल्न नदिने गरी स्थानीय रूपमा यातायात सहज बनाउनुपर्ने सुझाव दिए ।

उनले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने विषयमा आयोग कत्तिको सकारात्मक छ भनी उनले चासो राखे । अहिलेसम्म मतदातालाई निर्वाचनमा सहभागी हुन उत्साहित बनाउने ठोस योजना नदेखिएको भन्दै उनले नयाँ मेकानिजम खोज्न सुझाव दिए ।

प्रदेश र स्थानीय तहको निर्वाचनलाई कम चुनौतीपूर्ण र बढी व्यवस्थित बनाउन ठोस कार्ययोजना माग गरे । निर्वाचन प्रक्रियामा समुदायलाई प्रत्यक्ष जोड्ने संयन्त्र विकास गर्नुपर्नेमा उनको जोड थियो ।

ranechhap