काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन् । सुनसरीको घटनापछि सामाजिक सद्भाव बिथोलिन नदिन र परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूबिच भएको छलफलका बारेमा लामिछानेले ब्रिफिङ गरेका थिए ।
विशेष गरी, सोही विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय बैठकमा भएको छलफल, दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे लामिछानेले राष्ट्रपतिलाई अवगत गराउनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र संसदको प्रभावकारिताका विषयमा पनि उनीहरूबिच सामान्य कुराकानी भएको सचिवालयले उल्लेख गरेको छ ।






































