वि.सं.२०८३ साउन १३ बुधवार

काठमाडौँको माइतीघर मण्डलामा लघुवित्त पीडितको आज पनि सामूहिक आमरण अनशन जारी

khanepani

काठमाडौँ । विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधवार पनि सामूहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा मङ्गलवारदेखि सुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ ।

आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् ।

उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, तथा गरिब, मजदुर, सुकुमबासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण प्रदान गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीडितहरूले राखेका छन् ।

आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाहरूको अन्त्य गरी मुलुकमा समाजवादी अर्थ व्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग समेत प्रस्तुत गरेको छ । माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने सङ्घर्ष समितिले जनाएको छ ।

ranechhap