काठमाडौँ। सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र विवादलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ।
उक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो धारणा राख्दै धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सबै पक्षसँग आग्रह गरेका छन्।
बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले तराई-मधेसमा हिन्दुहरूको चाडपर्व वा उत्सवहरूमा सधैँ तनाव सिर्जना गरिने र हिंसात्मक बनाइने गरिएको आरोप लगाए। यस्ता गतिविधिहरू योजनाबद्ध ढङ्गबाट भइरहेको दाबी गर्दै उनले भने, ‘राज्यको सधैँको उदासीनताको कारण फेरि कप्तानगन्ज घटना भएको छ, जुन चिन्ताजनक छ।’
कप्तानगन्जको घटना भुसको आगोसरी फैलिनु अघि नै यसको जरासम्म पुगेर दीर्घकालीन समाधान निकाल्नुपर्नेमा उनले जोड दिए। यो हतारको र अति संवेदनशील विषय भएकाले सरकारले तुरुन्तै आयोग बनाएर संवाद थाल्नुपर्ने माग उनले राखे।
छलफलका क्रममा लिङ्देनले मोरङ जिल्ला प्रशासन कार्यालयको भूमिकामाथि पनि कडा आपत्ति जनाए। पुराण, सप्ताह वा धार्मिक अनुष्ठानहरूमा चर्को आवाज बजाउन निषेध गर्ने गरी जिल्ला प्रशासनले जारी गरेको सूचना हिन्दु लक्षित र अपरिपक्व भएको उनले बताए।
प्रशासनको विभेदकारी नीतिको आलोचना गर्दै लिङ्देनले भने, ‘अर्को धर्ममा पनि चर्को आवाज बजाउने चलन छ, त्यसमा चाहिँ प्रशासन केही बोलेको छैन।’ यस्ता कदमले इगो पैदा गर्ने भन्दै उनले ‘किन खेलबाड गरिँदैछ?’ भनेर प्रश्न गरे।
लिङ्देनले कप्तानगन्ज घटनाका मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गरिनुपर्ने बताए। साथै घटनाका घाइतेहरूको प्रभावकारी उपचार हुनुपर्ने उनको माग थियो।
प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको अभ्यास निर्वाध गर्न पाउनुपर्ने अधिकारको उनले स्मरण गराए। संविधान र कानुनले सुनिश्चित गरेको नागरिक अधिकारको उपभोग निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
आफ्नो भनाइको अन्त्यमा लिङ्देनले नेपालको सदियौँदेखिको सामाजिक सद्भाव, आपसी एकता, शान्ति र भाइचारा कायम राख्न सबै पक्षलाई आह्वान गरे।






































