वि.सं.२०८३ साउन १३ बुधवार

रास्वपाद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

khanepani

काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। सुनसरीमा एक जनाको ज्यान जाने गरी भएको घटना र त्यसपछि उत्पन्न असहज परिस्थिति एवम् समसामयिक विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो।

तर, मुलुकको शान्ति–सुरक्षा र उत्पन्न परिस्थितिबारे छलफल गर्न आयोजित यस महत्त्वपूर्ण बैठकमा सरकारका तर्फबाट मुख्य जिम्मेवार व्यक्तिहरूकै उपस्थिति छैन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङलाई सर्वदलीय बैठकमा बोलाइएन कि उनीहरूले बहिष्कार गरे भन्नेबारे चौतर्फी चासो र अन्योल सिर्जना भएको छ।

सुनसरी घटनापछि सरकारको आलोचना भइरहेको र तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको अवस्थामा बसेको बैठकमा मुख्य जिम्मेवार मन्त्रीहरू नै उपस्थित नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

मुख्य नेतृत्वको अनुपस्थितिका बीच सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भने बाक्लो उपस्थिति रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी छन्।

बैठक आयोजनाको औचित्यबारे स्पष्ट पार्दै रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट साझा सन्देश आवश्यक रहेकाले सर्वदलीय छलफल आयोजना गरिएको बताए।

“अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौँ,” महामन्त्री आचार्यले भने।

ranechhap