वि.सं.२०८३ साउन १३ बुधवार

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक, सिंहदरबारमा जुट्दै शीर्ष नेताहरू

khanepani

काठमाडौं । सुनसरीमा विकसित पछिल्लो तनावपूर्ण परिस्थिति र देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको पहलमा आयोजना गरिएको उक्त बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बस्दैछ।

बैठकमा सहभागी हुनका लागि संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ। यसका साथै उपेन्द्र यादव (जनता समाजवादी पार्टी), महन्थ ठाकुर (लोकतान्त्रिक समाजवादी पार्टी) र सीके राउत (जनमत पार्टी) नेतृत्वका दलहरूलाई पनि विशेष आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार सबै दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै लामिछाने स्वयंले विभिन्न दलका शीर्ष नेताहरूसँग टेलिफोन संवाद गरी बैठकमा सहभागिताका लागि आग्रह गरेका छन्।

सुनसरीको घटनापछि सिर्जित असहज परिस्थितिलाई सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न राजनीतिक तहबाट साझा धारणा आवश्यक रहेकाले यो पहल गरिएको रास्वपाका महामन्त्री विपिन आचार्यले बताए।

“संवेदनशील घटनापछि समाजमा पर्न सक्ने नकारात्मक असर र सम्भावित द्वेषलाई न्यूनीकरण गर्दै शान्ति-सुरक्षा कायम गर्न प्रशासनिक प्रयास मात्र पर्याप्त हुँदैन,” महामन्त्री आचार्यले भने, “त्यसैले राजनीतिक दलहरूका तर्फबाट पनि एकताबद्ध सन्देश र अपिलको महसुस गरी सर्वदलीय छलफल डाकिएको हो।”

ranechhap