वि.सं.२०८३ साउन १२ मंगलवार

नेकपाले भन्यो, ‘सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ’

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ। प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नभएको ठाउँमा चलाइएको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अझ घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतङ्क हो । सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील घडीमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा यस घटनामा सरकारको सुरक्षा संयन्त्रबाट भएको ज्यादती स्पष्ट रूपमा देखिएको छ ।’

घटनाको बेलामा सुरक्षा निकायहरू नेतृत्वविहीन रहनु सुरक्षा व्यवस्थाको अर्को गम्भीर कमजोरी भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नियम–कानुनको उल्लङ्घन गर्दै जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँ नागरिकलाई गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’

कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको छ।

परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ बनाउन, जनविश्वास कायम गर्न तथा वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

ranechhap