सुर्खेत । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए ।
नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गर्नेछन् । त्यसका लागि आवश्यक तयारी भइरहेको कांग्रेस स्रोतले बताएको छ ।
शाही आइतबार काठमाडौँ गएका थिए । शीर्ष नेतृत्वसँग भेट गरी उनी मंगलबार बिहान ८ बजेको विमानमार्फत सुर्खेत फर्किएका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबिच प्रदेश सत्ता समीकरण भएसँगै कर्णाली कांग्रेसको भागमा परेको थियो ।
यता एमाले संसदीय दलका नेता यामलाल कँडेल पनि आइतबार काठमाडौँ गएर सोमबार फर्किएका छन् । यद्यपि दुई दलका नेताबीच अहिलेसम्म औपचारिक बसाइ भने हुन सकेको छैन ।
स्रोतका अनुसार अहिले ११ बजेतिर दुई दलका नेताबीच छलफल हुने समयतालिका छ । शाहीले अहिले आफ्ना दलका सांसदसँग छलफल गरिरहेका छन् । शाही आज कर्णालीको ५औँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन् । यस अघि यामलाल कँडेलले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
नयाँ मुख्यमन्त्रीको दाबी पेसका लागि अहिलेसम्म प्रदेश प्रमुखको कार्यालयमा जानकारी भने राइएको छैन ।
‘आज अन्तिम समय हो तर हालसम्म जानकारी आएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सुचना अधिकारी मनमाया काउचाले भनिन् ।






































