वि.सं.२०८३ साउन ११ सोमवार

नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता

khanepani

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

उनले मृतकप्रति समवेदना व्यक्त गर्दै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुधन गुरूङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरेर पहल अघि बढाएकी छन्।

समन्वयकै क्रममा घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। निष्पक्ष अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता मन्त्री मेहताले व्यक्त गरेकी छन्।

घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले मिलाएको उनले बताएकी छन्। सत्यतथ्य बुझ्न, परिस्थितिको अनुगमन गर्न र स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गर्न मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ।

स्वास्थ्यकर्मी सुरक्षित भए मात्र नागरिकले गुणस्तरीय सेवा पाउने उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्य संस्थामा हुने हिंसाप्रति सरकारले शून्य सहनशीलताको नीति लिएको बताएकी छन्। नारायणी अस्पतालमा निर्बाध सेवा सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ। स्वास्थ्य संस्था नागरिकको जीवन बचाउने आशाको केन्द्र भएकाले पीडा वा आक्रोश व्यक्त गर्ने माध्यम हिंसा हुन नसक्ने भन्दै उनले सबैलाई संयम, सहयोग र सहकार्यका लागि अपील गरेकी छन्।

ranechhap