वि.सं.२०८३ साउन ११ सोमवार

सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

khanepani

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको साउन ११ गते बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रहरूमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन तथा कुनै पनि किसिमका समूहगत गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनका अनुसार यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई पाँच सय रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्दै क्षेत्रमा शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जाने तयारी गरिरहेको युवाहरूको एउटा समूहले डिजे बजाएपछि अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध भएको भन्दै आपत्ति जनाएको थियो। सोही विषयलाई लिएर दुई पक्षबीच गएराती झडप र विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको स्थानीयले बताएका छन् ।

ranechhap