जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितको तीन दलीय गठबन्धन नै कायम रहने दाबी गरेका छन् ।
सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा कुनै खटपट नआएको बताउँदै उनले मधेसमा आफ्नो नेतृत्वको सरकारलाई कुनै समस्या नरहेको प्रस्ट पारे ।
मुख्यमन्त्री यादवले राजनीतिमा रातारात धेरै ठुलो परिवर्तन आउन सक्ने भए पनि अहिलेसम्म केन्द्र र प्रदेश तहसम्मको सहमति अनुसार मधेसमा ३ दलकै सरकारले निरन्तरता पाउने बताए । कुरा गर्दै उनले भने, ‘केन्द्रमा अस्ति पुगेर बैठक, छलफल गरेर आएका छौँ । आज बिहान पनि पार्टी हाम्रो पार्टीको सभापतिसँग कुरा भयो । प्रदेशमै मिलाएर लैजानुस् भन्नुभएको छ ।’ प्रदेशको सत्ता गठबन्धनमा रहेका दलसँग सहमति भइसकेकाले यही सरकारले निरन्तरता पाउनेमा विश्वस्त रहेको उनले बताए ।
आफ्नो पार्टीका केन्द्रीय नेतृत्वले प्रतिपक्षबिहीन प्रदेश सरकारको परिकल्पना गर्न नसकिने भनेर तीन दलीय गठबन्धन अस्वीकार गरे पनि मधेसको हकमा त्यो लागु नहुने मुख्यमन्त्री यादवले प्रस्ट पारे । अन्य प्रदेशमा यिनै तीन दलमध्ये कुनै एउटा दल बलियो प्रतिपक्ष रहेको जिकिर गर्दै उनले मधेसमा कांग्रेस, एमाले र नेकपा नै सरकारमा जाँदासमेत जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले यहाँ तीन दलीय गठबन्धन बनाउनु केन्द्रको नीति विपरीत नरहने पनि प्रस्ट पारे ।
उनले भने, ‘मधेसमा प्रतिपक्ष बलियो छ, प्रतिपक्ष लगायत सबैको सहमतिमा हामीले बजेट पारित गरेका छौँ ।’
मुख्यमन्त्री यादवले मधेसमा यही सरकारले निरन्तरता पाउने दाबी गर्दै अगाडि भने, ‘गठबन्धनमा रहेका दलहरू बिच पनि पहिले नै सहमति भइसकेको छ ।’ रातारात केही भए अर्कै कुरा, अन्यथा अहिलेसम्मको सिनारियोले मधेसमा अन्य प्रदेशजस्तो सरकार ढल्ने या परिवर्तनको सम्भावना नरहेको उनले प्रस्ट पारे ।





































