वि.सं.२०८३ साउन ८ शुक्रवार

पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह

khanepani

काठमाडौँ । नेपाल सरकारले पश्चिम एसियामा चर्किएको द्वन्द्वबारे आफ्नो धारणा यथावत रहेको जनाएको छ। शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको उल्लेख गर्दै सरकारले वार्ता र कूटनीतिक माध्यमबाट यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए। उनका अनुसार यसले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ।

प्रवक्ता क्षेत्रीले होर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई नेपाल सरकारले समर्थन गरेको जानकारी दिए। साथै, उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र हालसम्म कुनै समस्या नदेखिएको बताए।

कुनै समस्या परे सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्न वा ‘मोफा मित्र’ एपमार्फत गुनासो दर्ता गर्न उनले नेपालीहरूलाई आग्रह गरे।

पत्रकार सम्मेलनमा दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्याम सेन्टरबाट नेपालीहरूको उद्धारबारे पनि जानकारी दिइयो। मन्त्रालयका अनुसार थाइल्यान्ड, कम्बोडिया, लाओस र म्यानमारलगायत देशका सीमा क्षेत्रमा रहेका स्क्याम सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ।

त्यस्तै, कम्बोडियाको जेलमा हाल ४९ जना नेपाली रहेको जानकारी दिँदै उनीहरूको रिहाइका लागि सम्बन्धित नेपाली दूतावासमार्फत पहल भइरहेको मन्त्रालयले जनाएको छ।

प्रवक्ता क्षेत्रीले स्क्याम सेन्टरमा काम गर्न नेपालीलाई पठाउने कार्य गैरकानुनी भएको उल्लेख गर्दै त्यसमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने बताए। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको विवरणसहित प्रहरीमा उजुरी दिन उनले परिवार र अभिभावकलाई आग्रह गरे।

स्क्याम सेन्टरमा फसेका नेपालीको उद्धारका नाममा कसैले रकम संकलन गरिरहेको भए त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले आग्रह गरे।

यसैबीच, भारतको कोलकातादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको जानकारी दिँदै मन्त्रालयले साउन १ गतेदेखि सुरु भएको उक्त सेवाले नेपालको व्यापार र व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले उपराष्ट्रपति रामसहायप्रसाद यादवको हालै सम्पन्न कतार भ्रमणबारे पनि जानकारी गराएका थिए।

ranechhap