वि.सं.२०८३ साउन ८ शुक्रवार

जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली

khanepani

काठमाडौँ। पूर्वमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जनता सजग नभए संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसकिने टिप्पणी गरेका छन्।

शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

संविधान निर्माणमा प्रमुख भूमिका खेलेका तत्कालीन माओवादी केन्द्र, नेकपा (एमाले) र नेपाली काङ्ग्रेस मिल्दा पनि प्रतिनिधि सभामा सरकारका प्रतिगामी प्रयास रोक्न नसकिने अवस्था रहेको उनको भनाइ छ। ज्ञवालीले मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक जोखिम टार्न सबै लोकतान्त्रिक तथा वामपन्थी दलहरूबीच कार्यगत एकताको आवश्यकता रहेको बताए।

देशको शक्ति सन्तुलनबारे बोल्दै ज्ञवालीले भने, ‘मुलुकको शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ। संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीन वटा पार्टीहरू नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), नेपाली काङ्ग्रेस सबै मिल्दा समेत प्रतिनिधि सभामा सरकारका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ।’

उनले अगाडि थपे, ‘राष्ट्रिय सभाले चेक एन्ड ब्यालेन्स गर्ला भन्ने आशा गरौँ। तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधनलाई रोक्न नसक्ने हाम्रो अवस्था छ।’

सरकारका पछिल्ला गतिविधिले मुलुक भूराजनीतिक भूमरीमा फस्ने खतरा बढेको ज्ञवालीले दाबी गरे। पश्चिमा शक्तिहरूका सैन्य अधिकारीहरूको तारन्तार भ्रमण, ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि, दलाई लामासम्बन्धी कार्यक्रम र प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले मुलुकलाई जटिल भूराजनीतिक अवस्थामा धकेल्ने जोखिम रहेको उनको भनाइ छ।

भूराजनीतिक जोखिमबारे टिप्पणी गर्दै उनले भने, ‘फ्री तिब्बत गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने खालका चर्चा र प्रधानमन्त्रीले संसद्मा उभिएर नेपालले पनि भारतको सीमा मिचेको छ भनेर दिएको आत्मघाती अभिव्यक्तिले गर्दा नेपाल नजानिँदो गरी भूराजनीतिक भूमरीमा धकेलिन सक्ने जोखिम देखिएको छ।’

संविधान संशोधनको नाममा आधारभूत मूल्यमान्यतामाथि कैँची चलाउने प्रयत्न भइरहेको र नागरिकका अधिकारहरू खोसिँदै गएको ज्ञवालीले बताए। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक प्रजातन्त्रलाई आफ्नो राजनीतिक दर्शनका रूपमा आत्मसात् गरेको भए पनि सरकारको नीति र व्यवहार उक्त सिद्धान्तसँग मेल नखाएको उनले टिप्पणी गरे।

रास्वपाको नीतिबारे आलोचना गर्दै ज्ञवालीले भने, ‘जुन पार्टीले आफूलाई सामाजिक प्रजातन्त्रवादी भन्छ, उसले ल्याएको बजेटमा मुर्दाघरमा एक रात लास राखेको पनि तीन प्रतिशत कर लिँदै गएको छ। यस्तो नाङ्गो नवउदारवादी नीतिका आधारमा श्रमिक जनताहरूलाई दुःख दिने काम भएको छ।’

ranechhap