वि.सं.२०८३ साउन ७ बिहीवार

कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वभाविक रूपमा लिँदै त्यसको प्रतिवाद गाली वा आक्रोशबाट नगर्न आग्रह गरेका छन् ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै शर्माले राजनीतिक यात्रामा संयमता र धैर्यता आवश्यक रहेको बताए ।

पार्टीको संस्थापन इतर समूहका नेताहरूले अघिल्लो दिन इतर समूहको भेला र त्यहाँ व्यक्त विचारप्रति गरेको तीखो टिप्पणी र गालीगलौजप्रति लक्षित गर्दै उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कसैले कतै भेला भएर एकदमै आलोचना गर्नुभयो भन्दैमा त्यसकै पछि लागेर वा त्यसैको बदलामा ढुङ्गा हानेर हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ,’ शर्माले भने । उनले पार्टीभित्र विचारको मन्थन हुँदा त्यसलाई उत्तेजनाका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले थपे, ‘बाटोमा हिँड्दा कसैले आलोचना गर्‍यो भन्दैमा हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्छ । त्यसैले हामी ढुङ्गा हान्ने होइन, आफ्नो उद्देश्यमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ ।’

बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको राजनीतिको स्मरण गर्दै शर्माले अहिलेको नवीन परिस्थितिमा कांग्रेसले आन्तरिक कलहभन्दा पनि नीति र विचारमा केन्द्रित हुनुपर्ने बताए ।

ranechhap