वि.सं.२०८३ साउन ५ मंगलवार

विश्वकप फाइनलपछि भएको झडपबारे फिफाको छानबिन, अर्जेन्टिनाका खेलाडीमाथि प्रतिबन्धको जोखिम

khanepani

काठमाडौं। फिफाले विश्वकप २०२६ को फाइनलपछि स्पेन र अर्जेन्टिनाका खेलाडीबीच भएको झडपबारे औपचारिक छानबिन सुरु गरेको छ।

घटनामा संलग्न अर्जेन्टिनाका केही खेलाडीमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको छ।

फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै उपाधि जितेपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

प्रत्यक्षदर्शी दृश्य अनुसार अर्जेन्टिनाका नाहुएल मोलिनाले मैदानमा दौडिँदै आएका क्रममा स्पेनका कप्तान रोड्रीको पेटमा प्रहार गरेको देखिएको छ। त्यसपछि मध्यरेखानजिकै दुवै टोलीका खेलाडीबीच ठूलो झडप भएको थियो।

झडपका क्रममा अर्जेन्टिनाका लिएन्ड्रो परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए भने त्यसपछि गाभीलाई भुइँमा लडाइदिएको देखिएको थियो।

त्यसपछि रेफ्री स्लाभ्को भिन्चिचले परेडेसलाई रातो कार्ड देखाएका थिए।

यसअघि नै रेफ्रीले निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई दोस्रो पहेँलो कार्डपछि मैदानबाट बाहिर पठाएका थिए।

साथै अर्जेन्टिनाका अन्य तीन खेलाडी र मुख्य प्रशिक्षक लियोनल स्कालोनीलाई पनि पहेँलो कार्ड देखाइएको थियो।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्पेन र अर्जेन्टिनाबीच भएको विश्वकप फाइनलको खेल प्रतिवेदनको अध्ययनपछि तथा फिफा अनुशासन संहिताको धारा ३६ अनुसार सम्भावित अनुशासन उल्लङ्घनको छानबिन गर्न अनुशासन तथा आचारसंहिता अभियोजक नियुक्त गरिएको छ।’

यसैबीच, फिफाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले देखाएको राजनीतिक सन्देश भएको ब्यानरबारे पनि छुट्टै अनुसन्धान गरिरहेको छ।

अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्यान्ड द्वीपसमूह अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए, जुन समर्थकहरूले एटलान्टा रंगशालाभित्र ल्याएका थिए।

फिफाको नियम अनुसार खेलाडी वा टोलीले मैदानमा राजनीतिक सन्देश दिन पाउँदैनन्। यदि नियम उल्लङ्घन भएको पुष्टि भएमा सम्बन्धित खेलाडी वा अधिकारीमाथि प्रतिबन्धसहित अनुशासनात्मक कारबाही हुन सक्नेछ।

ranechhap