काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट बुद्ध एयरमा कार्यरत एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाइलट आदित्य कसजु रहेका छन् ।
यसैबिच, समाचारप्रति बुद्ध एयरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सामाजिक सञ्जाल र अनलाइनमा आएका समाचारका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
घटनाको विषयमा स्पष्ट पार्दै बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित बुद्ध एयरका पाइलट प्रहरी हिरासतमा सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भए अनुसार उक्त घटनाको कारण पारिवारिक कलह तथा झैझगडासँग सम्बन्धित रहेको जनाइएको छ ।’
पाइलट पक्राउ परेको घटना बाहिरिएसँगै कम्पनीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आन्तरिक छानबिन सुरु गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा हामीले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । केही दिनअघि पक्राउ परेका कसजुमाथि प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान अगाडि बढाएको छ । पारिवारिक कलहका कारण उनले आवेशमा आएर श्रीमतीमाथि कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कम्पनीले यात्रु सुरक्षा र आफ्नो सामाजिक जिम्मेवारीप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ । छानबिन सकिएपछि वास्तविक तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी सामाजिक उत्तरदायित्व तथा यात्रु सुरक्षालाई सधैँ उच्च प्राथमिकताका साथ लिँदै आएका छौँ । यस विषयमा तथ्यपरक छानबिन सम्पन्न भएपछि आवश्यक जानकारी सार्वजनिक गर्नेछौँ ।’








































