वि.सं.२०८३ साउन १ शुक्रवार

विपद् अलर्ट सूचनाका लागि टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, ११५५ बाट एसएमएस आउने

khanepani

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । वर्षा, बाढी, पहिरो र डढेलो जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न दुई निकायबीच सहकार्यलाई निरन्तरता दिने गरी सम्झौता गरिएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

११५५ बाट आउनेछ पूर्वसूचना

सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका ग्राहकलाई मौसमजन्य विपद्को पूर्वसूचना एसएमएस (SMS) मार्फत पठाइने छ । यसका लागि विभागले ११५५ सर्टकोड प्रयोग गर्नेछ । टेलिकमले यो सेवा विगत झैँ निःशुल्क उपलब्ध गराउने छ ।

विज्ञप्ति अनुसार वर्षा, हावाहुरी, चटयाङ, हिमपहिरो, हिमपात, तातो हावाको लहर (लु), शितलहर, बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता १३ प्रकारका प्रकोपहरुको बारेमा नागरिकलाई पूर्व जानकारी दिइनेछ ।

जोखिमयुक्त क्षेत्रमा केन्द्रित सेवा

पूर्वसूचना प्रभावकारी बनाउन विभागले टेलिकमलाई जोखिमयुक्त क्षेत्रका ‘एसएमएस पोलिगन’ (SMS Polygon) हरु उपलब्ध गराउनेछ । विशेषगरी पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकाली लगायतका नदी तटीय क्षेत्र र आकस्मिक बाढी आउन सक्ने स्थानीय तहका नक्साका आधारमा त्यस क्षेत्रका सक्रिय मोबाइल प्रयोगकर्तालाई मात्र एसएमएस पठाइनेछ ।

यसले गर्दा सम्बन्धित क्षेत्रका बासिन्दाले समयमै सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान मद्दत पुग्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो सेवा २०७३ सालदेखि नै प्रदान गर्दै आएको छ । यस कार्यका लागि टेलिकमले पहिले उपलब्ध गराएको ७०० वटा सिममा थप १०० थप गरी अब कुल ८०० वटा डाटासहितको सिम विभागलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका प्रमुखहरुले यस सहकार्यबाट लाखौँ व्यक्तिहरु लाभान्वित हुने र भविष्यमा पनि प्राकृतिक जोखिम न्यूनीकरणमा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाइने विश्वास जनाएका छन् ।

ranechhap