वि.सं.२०८३ असार ३२ बिहीवार

अर्जेन्टिनी खेलाडीद्वारा फकल्यान्ड टापुमाथिको दाबीसहित ब्यानर प्रदर्शन, फिफाद्वारा कारबाही हुन सक्ने

khanepani

काठमाडौँ । इङ्ग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेसँगै अर्जेन्टिनी खेलाडीहरूले फकल्यान्ड टापु (माल्भिनास) माथिको आफ्नो देशको दाबीलाई समर्थन गर्दै ब्यानर प्रदर्शन गरेका छन्। यस राजनीतिक प्रदर्शनका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही अघि बढाउन सक्ने सम्भावना प्रवल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खेल सम्पन्न हुनासाथ अर्जेन्टिनी खेलाडीहरूले ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने आशय अंकित ब्यानर मैदानमै प्रदर्शन गरेका थिए। दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्यान्ड टापु हाल बेलायतको अधिनमा रहे पनि अर्जेन्टिनाले यसमाथि लामो समयदेखि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ। यही क्षेत्रीय विवादका कारण सन् १९८२ मा दुई राष्ट्रबीच ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकले ज्यान गुमाएका थिए।

यसअघि सन् २०१४ मा पनि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअगाडि अर्जेन्टिनी खेलाडीले सोही सन्देशयुक्त ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २७ हजार डलर जरिवाना तिराएको थियो। तत्कालीन समयमा फिफाले उक्त कदमलाई खेल मैदानमा राजनीतिक सन्देश फैलाएको र प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको ठहर गरेको थियो।

यसैबीच, अर्जेन्टिनाकी उपराष्ट्रपति भियारुएलले सामाजिक सञ्जालमार्फत फकल्यान्ड टापु अर्जेन्टिनाकै रहेको अडान दोहोर्‍याउँदै यो खेल केवल एक सामान्य प्रतिस्पर्धा मात्र नभएको टिप्पणी गरेकी छन्। अर्कोतर्फ, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने खेलपूर्व नै फुटबल र राजनीतिलाई पृथक् राख्नुपर्नेमा जोड दिएका थिए। उनले विगतको युद्धलाई एक दुःखद इतिहासका रूपमा स्मरण गर्दै त्यसलाई खेलकुदसँग मिसाउन नहुने धारणा व्यक्त गरेका थिए।

ऐतिहासिक संवेदनशीलतालाई मध्यनजर गर्दै अटलान्टामा सम्पन्न उक्त सेमिफाइनल भिडन्तका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता इङ्ग्ल्यान्डले लिए पनि खेलको उत्तरार्धमा एन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाएका थिए। अब अर्जेन्टिनाले उपाधि भिडन्तका लागि आगामी आइतबार स्पेनको सामना गर्नेछ।

ranechhap