वि.सं.२०८३ असार ३१ बुधवार

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने, ‘एमालेले ठोस निर्णय नदिएपछि मन्त्रिमण्डल हेरफेर गर्नपर्‍यो’

khanepani

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताएका छन् ।

नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताएका हुन् ।

‘मैले संविधान त दिएको अधिकार प्रयोग गरेर आज वर्तमान मन्त्रिमण्डलको हेरफेर तथा कार्य विभाजन गरेको छु,’ मख्यमन्त्री शाहले भने, ‘त्यसकारणले त्यसलाई त्यही रूपमा बुझ्ने यहाँहरुलाई आग्रह गर्छु ।’

जिम्मेवारी हेरफेर गर्ने र कार्य विभाजन तोक्ने सन्दर्भमा निर्णय लिएको शाहको भनाइ छ । ‘अरु कुनै कारणले चाहिं बर्खास्त भन्ने होइन कि जिम्मेवारी हेरफेर गर्ने सन्दर्भमा र कार्य विभाजन तोक्ने सन्दर्भमा निर्णय लिएको हो,’ उनले भने ।

१ असारमा संसद्मा बजेट प्रस्तुत भइकेपछि सत्ता साझेदार एमाले र आफ्नोबीचमा विभिन्न चरणमा संवाद निरन्तर चलेको र आजका मितिसम्म पनि संवाद कायमै रहेको मुख्यमन्त्री शाहले बताए ।

मुख्यमन्त्री शाहले बजेटमा प्राविधिक त्रुटीहरू भए सच्याएर भए पनि समझदारीका आधारमा अगाडि बढाऔं भन्दा एमालेले ठोस निर्णय नगरेपछि मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने परिस्थिति निर्माण भएको बताए ।

उनले अब प्रदेश सरकार संवैधानिक र कानुनी प्रावधान भित्र रहेर अगाडि बढ्ने पनि बताए । ‘३२ गते भोलिसम्म हामीसँग समय छ,’ शाहले भने, ‘त्यसपछि पनि संवैधानिक र कानुनी जे प्रावधानहरु छन् त्यो भित्र रहेर सरकार अगाडि बढ्छ ।’

एमालेसँगको सहकार्य टुटेको र नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य प्रारम्भ हुने विषयबारे पनि उनलाई प्रश्न गरिएको थियो ।

जवाफमा मुख्ममन्त्री शाहले भने, ‘अब वर्तमान परिवेशमा सबैसँग संवाद गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो । अहिले पनि एमालेसँग पूर्ण रुपमै संवाद अन्त्य भएको होइन । त्यसकारणले गर्दाखेरि एमाले, नेकपा अन्य दलहरूसँग पनि संवाद गरेर नै बजेट पास गर्ने सन्दर्भमा हामी सबै एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’

ranechhap