काठमाडौं । रास्वपाका नेता पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको प्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले राज्य आफैंले आतङ्कित बनाउन नहुने धारणा राखेका छन् ।
नेता झाले बुधबार बिहान सामाजिक सञ्चार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ।’
नागरिकको चिन्ता निराकरण गर्न सुझाव दिँदै उनले थप लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन ।’
राज्यकै संरक्षणमा सञ्चार माध्यम र अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएको तर्फ संकेत गर्दै उनले यस्तो बचपना देखाएर राजकाज चल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले लेखेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।’
गत सोमबार कान्तिपुर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले सवारीसाधन पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए । कान्तिपुर अगाडि पार्क गरेको गाडी रास्वपा नेताको भएको खुलेको थियो ।
कान्तिपुर पब्लिकेसन्स्को गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । यस्तै अगाडि राखिएको शंकास्पद गाडी भने काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा रहेको भेटिएको छ ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा रहेको पाइएको छ । १ कात्तिक २०६९ यो गाडी सानिमा विकास बैंकबाट ऋण लिएको देखिन्छ । सवारी दर्ता किताबमा राजीवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ । ती गाडीहरु प्रहरीले क्रेनले उठाएर लगेको थियो ।
यसरी सञ्चार गृहको गेटमा गाडी पार्किङ गरेको विषयले अहिले सरकारको सर्वत्र आलोचना भएको छ । संसदीय सिमिति, संसद र रास्वपाकै नेता एवं सांसदहरुले पनि यसको आलोचना गर्दै कारबाहीको माग गरेका छन् ।
रास्वपाले पनि यो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ । सभापति लामिछानेले रास्वपाकै व्यक्ति संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।






































