वि.सं.२०८३ असार ३१ बुधवार

फ्रान्सलाई चुनौती दिँदै यामलले भने, ‘मेरो जन्मदिनको उपहार विश्वकप फाइनल’

khanepani

काठमाडौं। स्पेनका युवा स्टार लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्सलाई हराउँदै फिफा विश्वकप २०२६ को फाइनलमा पुग्नु हुने बताएका छन्।

स्पेन र फ्रान्सबीच नेपाली समयानुसार आज मध्यरातमा अमेरिकाको टेक्सासस्थित एटी एन्ड टी स्टेडियममा हुने सेमिफाइनलअघि आयोजित पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रतिभाशाली फरवार्ड यामलले फ्रान्ससँग कुनै डर नभएको स्पष्ट पारे।

बेल्जियमलाई २–१ ले हराउँदै स्पेन सेमिफाइनल पुगेपछि यामलले ‘स्पेन होइन, फ्रान्स नै डराउनुपर्छ’ भनेको भनाइ चर्चामा आएको थियो। त्यसबारे उनले प्रस्ट्याउँदै भने, ‘मसँग फ्रान्सको डर छ कि भनेर सोधिएको थियो। मैले ‘छैन’ भनेँ। हामी युरोपियन च्याम्पियन हौँ। यो केवल फुटबल हो।’

जन्मदिनको अवसरमा आफूले हिराले जडित ठूलो हार किनेको बताउँदै यामलले वास्तविक उपहार भने विश्वकप फाइनलमा स्थान बनाउनु रहेको बताए।

‘मैले अहिलेसम्म धेरै उपहार पाएको छैन। मंगलबार जित निकालेर न्यूयोर्कमा हुने फाइनलको यात्रा तय गर्नु नै मेरो सबै भन्दा ठूलो जन्मदिनको उपहार हुनेछ,’ उनले भने।

यस विश्वकपमा यामलले हालसम्म एक गोल मात्र गरेका छन्। तर फ्रान्सविरुद्ध गोल थप्ने चुनौती स्वीकार गर्न आफू तयार रहेको उनले बताए।

‘म गोलमा मात्र केन्द्रित हुँदिनँ। तर यस्ता ठूला खेलमा गोल गर्नु विशेष हुन्छ। म यो चुनौती स्वीकार गर्छु, त्यसैले त यहाँ आएको हुँ,’ उनले भने।

सेमिफाइनललाई दर्शकका लागि उत्कृष्ट खेल हुने विश्वास व्यक्त गर्दै उनले थपे, ‘सबैले यही खेलको प्रतीक्षा गरेका थिए।’

यामलले ठूलो खेलको दबाब आफूले महसुस नगरेको पनि बताए।

‘जीवनमा फुटबल खेलभन्दा धेरै कठिन परिस्थितिहरू हुन्छन्। त्यसैले म शान्त छु। अतिरिक्त दबाब महसुस गरेको छैन। सधैंझैँ मैदानमा गएर टोलीका लागि आफ्नो शतप्रतिशत दिनेछु,’ उनले भने।

स्पेन आक्रामक शैलीमै खेल्नेः प्रशिक्षक फुएन्टे

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फ्रान्सविरुद्ध आफ्नो टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै बलमा नियन्त्रण कायम राख्ने रणनीति अपनाउने बताएका छन्।

उनले फ्रान्ससँग विगत केही वर्षदेखि लगातार प्रतिस्पर्धा हुँदै आएको स्मरण गर्दै दुवै टोलीका खेलाडी विश्वस्तरका रहेको बताए।

‘हामीले फ्रान्सको खेल राम्रोसँग अध्ययन गरेका छौँ। उनीहरूसँग उत्कृष्ट खेलाडी छन्, तर हामीसँग पनि छन्। हामी आफ्ना सबै बलिया पक्ष प्रयोग गर्दै उनीहरूको शक्ति निष्क्रिय बनाउने प्रयास गर्नेछौँ,’ डे ला फुएन्टेले भने।

जसले आफ्नो बलियो पक्ष राम्रोसँग प्रयोग गर्दै सन्तुलित प्रदर्शन गर्छ, उसैले जितको सम्भावना बढाउने उनले बताए।

‘हामी उनीहरूका प्रमुख खेलाडीमाथि ध्यान दिनेछौँ। व्यक्तिगत द्वन्द्व जित्ने प्रयास गर्नेछौँ र खेलभरि पहल हाम्रो हातमा राख्दै आफ्नै शैली लागू गर्ने लक्ष्य हुनेछ,’ उनले थपे।

फुएन्टेले फ्रान्स अघिल्ला भेटहरूको तुलनामा निकै परिपक्व र बलियो बनेको स्वीकार गरेका छन्।

गत वर्ष यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गरेको थियो। उक्त खेलमा स्पेन ५–१ ले अगाडि रहे पनि अन्तिम समयमा फ्रान्सले लगातार तीन गोल फर्काएको थियो।

‘त्यो र अहिलेको खेल पूर्ण रूपमा फरक हो। त्यतिबेला हामी ५–१ ले अगाडि थियौँ, तर केही मिनेटमै खेल ५–४ भयो। त्यसैले राम्रो पक्ष दोहोर्याउने र कमजोरी सुधार्ने प्रयास गरेका छौँ,’ उनले भने।

उनले फ्रान्सका खेलाडीहरूले पछिल्ला दुई वर्षमा उल्लेखनीय प्रगति गरेको पनि बताए।

मेरो विचारमा अहिलेको फ्रान्स पहिले भन्दा धेरै राम्रो टोली हो। उनीहरूका खेलाडी परिपक्व भएका छन् र दुई वर्ष अघिको भन्दा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यही यथार्थ हो,’ उनले भने।

उनका अनुसार स्पेनले आफ्नै खेल शैलीमा विश्वास राख्दै फ्रान्सको चुनौती सामना गर्नेछ।

‘हामी यस्तो विशेष अवसरमा छौँ, जहाँ फेरि फर्कने ग्यारेन्टी हुँदैन। त्यसैले हामी आफूले सक्ने उत्कृष्ट प्रदर्शन गर्दै खेलको आनन्द लिनेछौँ र प्रतिद्वन्द्वीको शक्तिलाई प्रभावहीन बनाउने प्रयास गर्नेछौँ,’ उनले भने।

ranechhap