वि.सं.२०८३ असार २९ सोमवार

राष्ट्रिय गौरवका आयोजनाले उत्पादन र रोजगारीको क्षेत्रमा योगदान पुर्‍याउन सकेन : सांसद तामाङ

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्‍याउन नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा तामाङले आयोजनाहरूले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउनुपर्नेमा जोड दिए ।

‘‘राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन क्षेत्रलाई सहयोग पुरÞ्याउनुपर्ने थियो, जसबाट रोजगारी वृद्धि भई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ठोस योगदान पुग्थ्यो । प्रश्तुत गरिएका आयोजनाहरूले प्रतिव्यक्ति आय र रोजगारीमा कस्तो प्रभाव पार्छन् भन्ने स्पष्ट खाका देखिएन । अहिलोकारले सेवा क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ,’ उनले भने ।

सांसद तामाङले पछिल्लो समय जीडीपीमा वृद्धि देखिए पनि कृषि र औद्योगिक क्षेत्रको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । पहाडी क्षेत्रको बसाइँसराइ र बाँझो जमिनको समस्यालाई उठाउँदै तामाङले मध्यपहाडी लोकमार्ग निर्माण भएपनि सो क्षेत्रमा उत्पादनका गतिविधि ठप्प रहेको बताए ।

‘उत्पादनमूलक क्षेत्रलाई नबढाएसम्म रोजगारी र वास्तविक आर्थिक सुधार सम्भव छैन । पहाडी क्षेत्रका ४० देखि ९० प्रतिशतसम्म खेतीयोग्य जमिन संकुचन भएर बाँझो पल्टिएका छन् । उत्पादनका क्षेत्रहरू बन्द हुँदा मानिसहरू पहाड छोडेर तराई वा सहर पस्न र अन्तत: वैदेशिक रोजगारीमा जान बाध्य छन्,’ उनले चिन्ता व्यक्त गर्दै भने ।

धेरैजसो उद्योगहरू तराई र सीमा क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै उनले मध्यपहाडी क्षेत्रलाई विकासको केन्द्र नबनाएसम्म हिमाल र तराईको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव नपर्ने दाबी गरे ।

ranechhap