काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन बंगलादेशी र एक नेपालीसहित पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा उनीहरू अनलाइन ठगीसँगै अवैधानिक रूपमा क्रिप्टोकरेन्सी (क्रिप्टो) तथा अमेरिकी डलर कारोबारमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार फेसबुकमा कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (डाइरेक्ट हायर) रोजगारी पाइने भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाइन्थ्यो। त्यसपछि विद्युतीय माध्यमबाट पीडितहरूको बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरिएको थियो।
यस्तो प्रकृतिको निवेदन प्राप्त भएपछि साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा संलग्न देखिएका पाँच जनालाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचर क्षेत्रबाट बंगलादेशतर्फ भाग्ने गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा महोत्तरी रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाषकुमार मण्डल रहेका छन्। यस्तै बंगलादेशका २५ वर्षीय एमडी जुबाएर अहमेद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीय एमडी रानी कमाल पनि पक्राउ परेका छन्।
उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोले सोमबार जनाएको छ।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानबाट पक्राउ परेकाहरूले अनलाइन ठगीका साथै अवैधानिक रूपमा बाइनान्स मार्फत क्रिप्टोकरेन्सी तथा यूएसडीटी कारोबारसमेत सञ्चालन गर्ने गरेको खुलेको छ।
साइबर ब्यूरोले यस्ता आकर्षक रोजगारीका विज्ञापन र अपरिचित मोबाइल एप डाउनलोड गर्न आग्रह गर्ने सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।






































