काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार छलफल भएको छ । हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बालेन स्वयम् सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो ।
गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको बेला शिर्ष नेता बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले अहिलेसम्म कुनै सार्बजनिक प्रतिक्रिया दिएका छैनन् ।
भेटमा पार्टी सभापति रवि लामिछानेले सुकुम्बासी समस्याको तत्काल समाधान गर्न र गणेश नेपालीको घटना बारे तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ ।
जवाफमा प्रधानमन्त्री शाहले सरकारले यी समस्याको समाधान गर्न काम गरिरहेको र छिट्टै नतिजा आउने बताएका थिए । त्यस्तै उनले संसद मार्फत सरकारका कामको जानकारी गराउने र सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेका थिए ।
साथै भेटमा पार्टीका पदाधिकारी मनोनयन गर्ने विषयमा पनि छलफल भएको थियो । विधानमा वरिष्ठ नेता त प्रधानमन्त्री बालेनका लागि राखिएको हो । तर, विधानमा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था राखिएपछि आन्तरिक रुपमा विवाद बढेको छ । विधानमा सम्पूर्ण अधिकार सभापतिका केन्द्रित गरिएको, जसमा संसदीय दलको नेतासम्मलाई पदाधिकारीले फिर्ता बोलाउन सक्ने व्यवस्था राखिएपछि बालेन पक्ष असन्तुष्ट बनेको छ ।






































