वि.सं.२०८३ असार २८ आइतवार

गणेश नेपाली आत्मदाह प्रकरण: पीडित पक्षसँग रातभरी भएको वार्तामा जुटेन सहमति

khanepani

काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी टोलीबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा करिब १४ घण्टा लामो वार्ता भए पनि टुंगोमा पुग्न सकेन । आज फेरि वार्तालाई निरन्तरता दिइने दुवै पक्षले बताएका छन् ।

हिजो बेलुकी सुरू भएको वार्ता रातभर चलेको थियो । वार्तामा सरकार पक्षबाट प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहाल र सचिवालय सदस्य सञ्जीव पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत थिए ।

पीडित पक्षका अनुसार वार्ताका क्रममा सरकारले मृतक परिवारलाई १५ लाख क्षतिपूर्ति दिन तयार भएको छ । तर, संसदीय छानबिनको साटो प्रशासनिक छानबिन गर्ने सरकार पक्षको प्रस्ताव छ । मृतकको पत्नीलाई रोजगारी र छोराछोरीलाई नि:शूल्क शिक्षा दिलाउने कुरामा पनि सरकारी प्रतिनिधि सकारात्मक छन् । यद्यपि यी विषयहरुलाई काठमाडौं महानगरको जिम्मामा छोडेर सरकार पन्छिन खोजेको पीडित पक्षको आरोप छ ।

नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने, घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने जस्ता मागमा सहमति जुटेको छैन । वार्ताका क्रममा दुई पक्षबीच चर्काचर्कीसमेत भएको स्रोतको दाबी छ ।

पीडित पक्षले महानगरको कार्यपालिका बैठकले निर्णय गर्ने वा नगर्ने भन्ने अन्योल रहेकाले नेपाल सरकारले औपचारिक रूपमा जिम्मेवारी नलिएसम्म कुनै सहमति नहुने अडान राखेका छन् । वार्ता समितिमा रहेका पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोप लगाए ।

पीडित पक्षले मृतकका बिरामी बुवा आमा र श्रीमतीलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको तथा आफन्तहरूलाई सहमतिमा हस्ताक्षर गर्न दबाब दिइएको आरोप पनि लगाएको छ । पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।

सरकारी वार्ता टोलीमा रहेका प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारले यो घटनाप्रति सरकार अत्यधिक संवेदनशील रहेको र निकास निकाल्न लागिपरेको बताइन् । पीडित पक्षसँग वार्ता जारी रहेको र चाँडै निष्कर्षमा पुग्ने उनको विश्वास छ ।

मृतकका परिवारसँग सहमति नहुँदा गणेश नेपालीको अन्त्येष्टि हुन सकेको छैन । परिवारले माग पूरा नभएसम्म लास नउठाउने अडान लिएको छ । नेपालीको शवलाई वीर अस्पतालबाट निकालेर टिचिङमा राखिएको छ ।

ranechhap